मिति २०८३/०५/१० गते नेपाल–चीन सीमा क्षेत्रमा भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएका व्यक्तिहरूप्रति सम्मान तथा श्रद्धाञ्जली कार्यक्रम
मिति २०८३/०५/१० गते नेपाल–चीन सीमा क्षेत्रमा भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएका व्यक्तिहरूप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्न नेपाल सरकारले मिति २०८३ भाद्र २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरे अनुशार गेटा आँखा अस्पतालमा पनि शोक सभा कार्यक्रम सम्पन भएको छ।
यस सभामा नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल ब्यबस्थापन समिति का अध्यक्ष श्री यज्ञ राज चौधरी र ब्यबस्थापन समिति का सदस्य नरेन्द्र राज शर्मा, गेटा आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा. सुजाता भण्डारी लगायत अन्य सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो । यस आँखा अस्पतालका कर्मचारीहरुको तर्फ बाट एक दिनको तलब बराबर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाइयो।
हालै देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ, त्यसले हामी सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ। प्राकृतिक विपत्तिको यो भयानक रूपले कयौँको काख रित्याएको छ, कयौँलाई घरबारविहीन बनाएको छ भने कयौँ दाजुभाइ, दिदीबहिनीहरूलाई बिचल्लीमा पारेको छ।
यस प्राकृतिक विपत्तिमा परी आफ्नो अमूल्य ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति गेटा आँखा अस्पताल परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, शोकाकुल परिवारजनमा पर्न गएको यस अपूरणीय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै, भगवानले यो असीम दुःख सहन सक्ने शक्ति र धैर्यता प्रदान गरून् भन्ने कामना गर्दछ।
यसका साथै, बाढीमा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उठिबास भएका, आफ्नो जायजेथा गुमाएर खुल्ला आकाशमुनि बस्न बाध्य हुनुभएका सम्पूर्ण बाढी पीडित परिवारहरूको दुःखमा हामी साथ छौँ। यो संकटको घडीमा उहाँहरूको उद्धार, राहत र पुन:स्थापनाका लागि सरकार, स्थानीय संघसंस्था र आम नागरिक सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ।
विपत्तिमा परेका हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई हरसम्भव सहयोग पुर्याउनु हामी सबैको मानवीय कर्तव्य हो। मृतक आत्माहरूको चिर शान्तिको कामना गर्दै पीडित परिवारको शिघ्र सामान्य जीवनतर्फ फिर्ता हुन सकोस् भनी कामना गर्दछौ।




