नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको वार्षिक योजना तर्जुमा गोष्ठि सम्पन्न

नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको वार्षिक योजना तर्जुमा गोष्ठि सम्पन्न

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालमा आर्थिक वर्ष २०८१।८२को लागि मिति २०८१ श्रावण १७ र १८ गते संचालित वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि, सम्पन्न गरएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कैलालीका सभापति तथा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री लोकराज जोशीज्यूको अध्यक्षतामा संचालित कार्यक्रममा नेपाल नेत्रज्योति संघ प्रदेश समिति उपसभापति श्री भूपेन्द्र थापाज्यू, प्रदेश समिति सदस्य करुणाकर भट्ट, नेत्रज्योति संघ कैलालीका सचीव श्री नरेन्द्र राज शर्मा, गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा सुरेश राज पन्त, प्रमुख प्रशासक श्री दीर्घ बहादुर चन्द लगायत अस्पतालका विभागीय प्रमुखहरु, गेटा आँखा अस्पताल अन्तरगतका आँखा अस्पतालहरु, उपचार केन्द्रहरुका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।


गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक श्री रमेश चन्द्र भट्टज्यूले कार्यक्रम संचालन गर्नुको साथै आँखा अस्पतालको प्रगति र आर्थिक वर्ष २०८१।८२को योजना प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा अस्पताल अन्तरगतका सेकेण्डरी स्तरका आँखा अस्पतालहरु तीन वटा सर्जिकल सेन्टर दुई वटा र २२ वटा आँखा उपचार केन्द्रहरुका प्रमुख तथा प्रतिनिधीहरुले आआफ्नो संस्थाको प्रगति तथा योजना प्रस्तुत गर्नु भएको थियो ।


यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा संचालित तीन वटा सेकेण्डरी लेवलका आँखा अस्पताल र २४ वटा आँखा उपचार केन्द्रहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ५० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आई रहेको छ ।


अस्पताल तथा अन्तरगतका कार्यक्रमहरुबाट आर्थिक वर्ष २०८०।८१ मा दुई लाख सत्तरी हजार बढीले आँखा उपचार सेवा लिएका छन् । आगामी आर्थिक वर्ष २०८१।८२ मा गेटा आँखा अस्पताल तथा अन्तरगतका आँखा अस्पताल, उपचार केन्द्र र आँखा शिविर गरि तीन लाख आठ हजार जनालाई आँखा उपचार सेवा प्रदान गर्ने लक्ष अस्पतालले लिएको छ । जसमध्ये अठ्ठाईस हजारलाई आँखाको शल्यक्रिया सेवा प्रदान गरिने छ ।