निःशुल्क आँखा शिविर सम्पन्न
गेटा आँखा अस्पताल द्वारा निःशुल्क आँखा शिविर सम्पन्न ३३७७ जना लाभान्वित ५६९ को शल्यक्रिया
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरुको आयोजना तथा रोटरी क्लब अफ इल्भेरम नर्वे, र फ्रेडहलोज फाउण्डेशनको सहयोगमा २०८१ बैशाख १६ देखि २९ गते सम्म दार्चुला जिल्लाको ३ स्थान र बैतडी जिल्लाको एक स्थानमा संचालित आँखा शिविरहरुमा जम्मा ३,३७७ जनाले आँखा उपचार सेवा लिएका छन् । जसमध्ये ५५६ जना मोतिविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण द्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ साथै १३ जनाको आँखाको अन्य रोगको पनि शल्यक्रिया गरि जम्मा ५६९ जनाको शल्यक्रिया गरिएको थियो । उक्त शिविरमा २,८०५ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो ।
शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए । गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर एवं बरिष्ठ नेत्र विशेषज्ञ डा सुरेश राज पन्त, डा स्मध अधिकारी लगायत १४ जना प्राविधिकहरुको टोलीले शिविरहरुमा सेवा प्रदान गरेका थिए ।
शिविरहरु दार्चुलाको श्री महेन्द्र नमुना मा वि खलंगा दार्चुला, श्री गोकुलेश्वर क्याम्पस गोकुले, श्री लटिनाथ मा वि रस्कोट मार्मा र जिल्ला अस्पताल बैतडीमा संचालन गरिएका थिए । शिविरहरु व्यवस्थापनमा नेपाल नेत्रज्योति संघ दार्चुला र बैतडीका पदाधिकारीहरु, पालिकाका पदाधिकारी तथा कर्मचारी, , विद्यालयका शिक्षक, नेपाल रेडक्रस सोसाईटी, विद्यार्थी तथा स्थानीय समाज सेवीहरुले महत्वपूर्ण योगदान पुर्याएका थिए ।
यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा संचालित तीन वटा सेकेण्डरी लेवलका आँखा अस्पताल र २३ वटा आँखा उपचार केन्द्रहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ५० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आई रहेको छ । गत वर्ष पनि अस्पतालले शिविर मार्फत २१,३७९ जनालाई आँखा उपचार सेवा प्रदान गरेको थियो जसमध्ये २,९५७ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो ।