गेटा आँखा अस्पतालको २७औं शाखाको रुपमा आँखा उपचार केन्द्र मेलौली स्थापना
आँखा उपचार केन्द्र मेलौली स्थापना
सुदूर पश्चिम प्रदेशका सबै क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र मेलौली नगरपालिकाको सहकार्य तथा सेभा फाउण्डेशनको सहयोगमा बैतडी जिल्लाको मेलौली नगरपालिका, शिवनाथ र पंचेश्वर गाँउपालिकाका आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्न मेलौलीमा मिति २०८१ श्रावण ४ गतेका दिन आँखा उपचार केन्द्र मेलौलीको बिधिवत स्थापना गरि आँखा उपचार सेवा संचालन गरिएको छ । उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परिक्षण, औषधि उपचार र चश्मा उपलब्ध गराउनको साथै सामान्य शल्यक्रिया सेवा र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउन कार्यक्रम समेत संचालन गरिने छ । आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परिक्षण गरिने उपकरणमा नै जडित क्यामराका मदतले टेलिमेडिसिनका प्रयोग गरि गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परिक्षण र आवस्यक परामश गरि उपचार सेवा समेत प्रदान गरिनको साथै विद्यालयका विद्यार्थीहरुको आँखा परिक्षण गरि चश्माको आवस्यकता भएका विद्यार्थीहरुलाइ निःशुल्क चश्मा समेत उपलब्ध गराईने छ ।
मेलौली नगरपालिकाका नगर प्रमुख श्री भीम बहादुर चन्दज्यूको सभापतित्वमा संचालित उदघाटन कार्यक्रममा नगर प्रमुख श्री भीम बहादुर चन्दज्यू र प्रमुख अतिथि नेपाल नेत्रज्योति संघ केन्द्रीय सहकोषाध्यक्ष श्री बिष्णुदत्त जोशीज्यूबाट संयुक्त रुपमा आँखा उपचार केन्द्रको बिधिवत उदघाटन गरिएका छ । कार्यक्रमका बिशिष्ठ अतिथि नेपाल नेत्रज्याति संघ जिल्ला शाखा कैलालीका सभापति एवं गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री लोकराज जोशीज्यू, सुदूर पश्चिम प्रदेश समितिका सदस्य श्री सिद्धराज भट्टज्यू, जिल्ला शाखा बैतडीका सभापति श्री लक्ष्मीदत्त पाण्डेयज्यूले शुभकामना व्यक्त गर्नुका साथै गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा श्री सुरेश राज पन्तज्यूले आँखा रोगका वर्तमान अवस्था र आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाका बिषयमा प्रकाश पार्नु भएका थियो । उक्त कार्यक्रममा बिशिष्ठ अतिथि गेटा आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत श्री दीर्घ बहादुर चन्द, मेलौली नगरपालिकाका वार्ड अध्यक्षज्यूहरु, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख तथा बिभिन्न संघ संस्थाका पदाधिकारी, कार्यालय प्रमुख, पत्रकार, महिला स्वास्थ्य स्वयं सेविका र स्थानीय समाज सेवीहरुको सहभागिता रहेका थियो ।
गेटा आँखा अस्पताल तथा अन्तरगतका आँखा उपचार केन्द्रहरुबाट प्रदान भइ रहेको सेवामा बिभिन्न कारणबाट पहूँच हुन नपाई आँखा उपचार सेवा लिनबाट बिगत लामा समय देखि बन्चित उक्त क्षेत्रका आँखाका रोगीहरु उपचार केन्द्रबाट लाभान्वित हुनेछन ।
यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न तथा गुणस्तरीय आँखा उपचार सेवा पुर्याउन गेटा आँखा अस्पताल तथा यस अस्पताल अन्तरगत प्रदेशका ९ वटै जिल्लामा संचालित २७ वटा शाखाहरुबाट नियमित उपचार सेवा प्रदान गर्नका अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाइ आँखा उपचार सेवाको पहूँच बढाउन आँखा शिविर मार्फत समेत सेवा प्रवाह गरि रहेको छ ।