गेटा आँखा अस्पताल द्वारा निःशुल्क आँखा शिविर सम्पन्न
गेटा आँखा अस्पताल द्वारा निःशुल्क आँखा शिविर सम्पन्न १७२९ जना लाभान्वित ३०५ को शल्यक्रिया
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल, बुढीगंगा र बुढीनन्दा नगरपालिकाको आयोजना तथा सेभा फाउण्डेशन र एक एक पाईला फाउण्डेशन काठमाण्डौंको सहयोगमा २०८१ जेष्ठ ७ गते देखि १३ गते सम्म बाजुरा जिल्लाको २ स्थानमा संचालित आँखा शिविरहरुमा जम्मा १७२९ जनाले आँखा उपचार सेवा लिएका छन् । जसमध्ये ३०४ जना मोतिविन्दुका बिरामीहरुलाई निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण द्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ साथै १ जनाको आँखाको अन्य रोगको पनि शल्यक्रिया गरि जम्मा ३०५ जनाको शल्यक्रिया गरिएको थियो । उक्त शिविरमा १४२४ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो ।
शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए । गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर एवं बरिष्ठ नेत्र विशेषज्ञ डा सुरेश राज पन्तको नेतृत्व संचालित उक्त शिविरहरुमा १३ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।
यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा संचालित तीन वटा सेकेण्डरी लेवलका आँखा अस्पताल र २३ वटा आँखा उपचार केन्द्रहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ५० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आई रहेको छ ।
एक एक पाईला फाउण्डेशन काठमाण्डौंको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा नाक कान घांटी र दाँतको पनि उपचार गरिएको थियो ।