गेटा आँखा अस्पतालद्वारा संचालित आँखा शिविर

गेटा आँखा अस्पतालद्वारा संचालित आँखा शिविरमा २७५९ जना लाभान्वित ४१८ को शल्यक्रिया

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल, कमलबजार र मंगलसेन नगरपालिकाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय अछाम, फ्रेड हलोज फाउण्डेशन र ह्यामर रोटरी क्लब नर्वेको सहयोगमा २०८१ जेष्ठ २१ गते देखि २९ गते सम्म अछाम जिल्लाको ३ स्थानमा संचालित आँखा शिविरहरुमा जम्मा २७५९ जनाले आँखा उपचार सेवा लिएका छन् । जसमध्ये ४११ जना मोतिविन्दुका बिरामीहरुलाई निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण द्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ साथै ७ जनाको आँखाको अन्य रोगको पनि शल्यक्रिया गरि जम्मा ४१८ जनाको शल्यक्रिया गरिएको थियो । उक्त शिविरमा ८७५ जनालाई चश्मा उपलब्ध गराउनको साथै १४६६ आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो ।

आँखा परिक्षणको प्रतिक्षारत बिरामी
आँखा परिक्षण

शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए । गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा अनील गुरुड.को नेतृत्व संचालित उक्त शिविरहरुमा नेत्र अधिकृत नरेन्द्र राज बिष्ट लगायत १३ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।

शिविरहरु अछाम जिल्लाको बयलपाटा अस्पताल बयालपाटा, कमलबजार र शोडषादेवी मा वि मंगलसेनमा संचालन गरिएका थिए । शिविरहरु व्यवस्थापनमा नेपाल नेत्रज्योति संघ अछाम, कमलबजार नगरपालिका र स्वास्थ्य कार्यालय अछामका कर्मचारीहरु, बयलपाटा अस्पतालका कर्मचारीहरु, विद्यार्थी तथा स्थानीय समाज सेवीहरुले महत्वपूर्ण योगदान पुर्याएका थिए ।
यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा संचालित तीन वटा सेकेण्डरी लेवलका आँखा अस्पताल र २३ वटा आँखा उपचार केन्द्रहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ५० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आई रहेको छ ।

अप्रेशन गरिएका बिरामीहरु
अप्रेशन गरिएका बिरामीहरु